वर्षा लाग्यो नेपाल र नेपालीको दुर्दशा सुरु

न्यूज समय

मुख्यमुख्य राजमार्गमा आवागमन ठप्प, दर्जनभन्दा बढी सडक सञ्चालन समस्या

मध्य असार आइपुग्दा वर्षापछिको बाढी पहिरोले वितण्डा मच्चाएको छ । २० गतेको अवस्था हेर्ने हो भने बिहानसम्म देशका मुख्यमुख्य ३ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । त्यसैगरी मुख्य सडकहरु दर्जनभन्दा बढीमा आक्कल झुक्कल यातायात सञ्चालन हुन्छन् ।

सडक विभागले जारी गरेको एउटा डकुमेन्टअनुसार पूर्वको नाका मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् । यहाँबाट पैदल आवागमन पनि असम्भवजस्तो छ ।

राजधानीसँग जोडिनेमध्ये मुख्य राजमार्गको मुङलिन नारायणघाट सडक प्रायः अवरुद्ध नै हुन्छ वर्षा लागेपछि । पृथ्वी राजमार्ग त कति बेला कहाँ पहिरो खस्छ भन्न सकिन्न । असार १५ देखि साउन अन्तसम्म यो बाटो हिंड्न नपरे हुन्थ्यो भन्ने हुन्छ ।

अर्को सिद्धार्थ राजमार्गको पनि कुनै भर छैन । कहाँ कतिबेला पहिरो झर्ने र आवागमन बन्द हुने केही थाहा हुन्न । आजको मितिमा यो राजमार्गअन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड एकतर्फी सन्चालनमा रहेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही जानकारीअनुसार यस वर्ष ७३ वटा सडक पटकपटक अवरुद्ध भएका छन् । हालसम्म सडकमा २४ करोड ९६ लाख २३ हजारभन्दा बढीको भौतिक क्षति भएको छ ।

यो तथ्यांक र अवस्थाले के देखाउँछ भने हाम्रो विकास कस्तो छ ? हिउँदभरि त्यही सडक सुधार, स्तरोन्नतिजस्ता नाममा डोजर लगाउने र जथाभावी खन्ने गरिन्छ । वर्षा लागेपछि त्यही झरेर सडकमा थुप्रिन्छ । यो प्रत्येक वर्षको अवस्था हो । यस्तो विकास कहिलेसम्म हो र जनताले सहजताको आवास गर्ने कहिले ?