जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापति आउँदो बुधबार चयन गरिने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त संसदीय विशेष समितिको सभापति चयनका लागि बुधबार दिउँसो २ः०० बजे निर्वाचन हुने गरी तालिका तोकेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदी भएर आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट, धादिङलगायत जिल्ला र आसपासका क्षेत्रमा गरेको मानवीय तथा भौतिक क्षतिको पृष्ठभूमिमा प्रतिनिधिसभाले १५ सदस्यीय उक्त संसदीय विशेष समिति गठन गरेको थियो ।
समितिको भोटेकोशी–त्रिशूली विपद्को कारण, यसको प्रभाव तथा क्षतिको अध्ययन तथा अनुगमन, विपद्को उत्पत्ति, घटनाक्रम, तत्काल कारण र जोखिम तीव्र बनाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन यसको कार्यक्षेत्र रहेको बताईएको छ ।
समितिले विपद् जोखिम न्यूनीकरण तथा पूर्वचेतावनी प्रणालीका सम्बन्धमा अधययन गरेर आवश्यक सुझावहरु प्रस्तुत गर्नेछ ।


न्यूज समय
१२ आश्विन, २०८३, सोमबार १५:०४