पत्रिकामा टेण्डरका सूचना प्रकाशन निषेध गर्ने सरकारको तयारी प्रति सर्वोच्चद्वारा कारण देखाउ आदेश

न्यूज समय

सर्वाेच्च अदालतको संवैधानिक इजलासले सार्वजनिक खरिद ऐन २०६३ को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ ओदश जारी गरेको छ ।

प्रधानन्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरु विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको पांच सदस्यीय इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्नेगरी भएको सार्वजनिक खरिद ऐन २०६३ को संशोधन उपर सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

पत्रिकामा सूचना तथा विज्ञापन प्रकाशनमा पूर्व प्रतिबन्ध लगाइएको विषय असंवैधानिक भएको, तथा त्यस्ता विषयमा विकसित मुलुकका सर्वाेच्च अदालतहरुले समेत बदर गरिदिएको दृष्टान्त सहित अधिवक्ताद्वय अनन्तराज लुईंटेल र रामप्रसाद पुडासैनीले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

तर आजको इजलासले मुद्दाको विषयवस्तु अन्तिम सुनुवाइको बखतमा नै निक्र्याैल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश दिन भने इन्कार गरेको स्रोतले बताएको छ ।

पत्रिकामा विज्ञापन दिन नपर्ने गरी सार्वजनिक खरिद ऐन संसोधनमा सरकारको तयारीले पत्रिका तथा विज्ञापन एजेन्सी बन्द हुने तथा पत्रकार र एजेन्सीमा काम गर्ने कामदार वेरोजगार हुने स्थीति सृजना भएको भन्दै त्यस्तो कदम प्रति तिव्र विरोध हुँदै आएको छ ।