अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएका एक व्यक्तिलाई नेपाल प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ। उनीमाथि सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा रेड नोटिस जारी थियो । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ निवासी ५१ वर्षीय धनबहादुर बोगटी रहेका छन्।
उनलाई कमलामाई नगरपालिका–८ बाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका बलात्कार अभियोगमा फरार रहेका बोगटीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएपछि २०८२ पुस ६ गते इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। त्यसयता उनको खोजी कार्य जारी रहेको थियो। रेड नोटिस जारी भएपछि विभिन्न सुरक्षा निकायसँगको समन्वयमा प्रहरीले उनको गतिविधिमाथि निगरानी बढाएको थियो। अनुसन्धानका क्रममा उनी सिन्धुलीमै लुकेर बसिरहेको सूचना प्राप्त भएपछि विशेष अपरेसन सञ्चालन गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको उल्लेख गर्दै फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल भएको जनाएको छ। पक्राउ परेका बोगटीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


न्यूज समय
१८ जेष्ठ, २०८३, सोमबार ००:००