वजेट बहस

बजेट महत्त्वाकांक्षी भएपनि कार्यान्वयनमा ल्याए निजीक्षेत्रको मनोबल बढाउछ : अध्यक्ष अग्रवाल

न्यूज समय

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट महत्त्वाकांक्षी देखिए पनि कार्यान्वयनमा आए निजीक्षेत्रको मनोबल बढाउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजद्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा अग्रवालले लामो समयदेखिको सिथिल अर्थतन्त्रलाई वजेटले चलायमान बनाउने बताए ।

उनले भने ‘नेपाल प्रचुर सम्भावना भएको देश हो । हाम्रो नियति भनेको हाइएस्ट पर्सेन्टेज अफ जीडीपीको रूपमा आउनुपर्ने र हरेक साउथ एसियाकै उच्च जीडीपी ग्रोथको कन्ट्रीको रूपमा हुनुपर्ने हो । तर, लामो समयदेखि, अहिलेसम्म नीति र नियमको दलदलमा अल्झिएका छौँ ।

नीति भनेको बजेट हो, र नियम भनेको सुशासन हो । नेपालको लागि नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुको रूपमा यो बजेट प्रस्तुत गरिएको छ । यसको लागि म अर्थमन्त्रीज्यूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

उनले नेपालको बजेटको इतिहास चेम्बर अफ कमर्स सँग-सँगै रहेको स्मरण गर्दै सरकार गठन भएको दुई महिनाको छोटो कार्यान्वयन अवधिमा यो बजेट प्रस्तुत भएकाले यसलाई एउटा सुरुवात विन्दुको रूपमा लिएको बताए ।

उनका अनुसार नेपाल चेम्बर अफ कमर्सले राखेका अधिकांश सुझावहरू सम्बोधन गरिएका छन् । अग्रवालले ३६० प्रकारका वस्तुहरूका अन्त शुल्कहरू घटाउने व्यवस्थाको स्वागत गरे ।

उनकाअनुसार नेपालमा अन्तस्शुल्कले धेरै ठूलो समस्या, विकराल समस्या खडा गरेको थियो । उनले भने – ‘हाम्रो हार्मोनाइज्ड कोडको ८ डिजिटको छ ।

विश्वमा १० डिजिटको हार्मोनाइज्ड कोड छ । त्यो १० र ८ को बीचमा जुन डिफरेन्स आउँछ नि, त्यसलाई एउटा स्वेच्छाचारी ढंगले प्रयोग गरेर, भुक्तभोगी भएका धेरै व्यवसायीहरू पीडित भएका छन्, उनको भनाई थियो ।