यान्त्रिक अवस्था कमजोर भएका १७ सवारी चालक कारबाहीमा

न्यूज समय

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार क्षेत्रमा सञ्चालन गरेको विशेष चेकिङका क्रममा १७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सडक सुरक्षा र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको उक्त अभियानमा ४७ वटा सवारीसाधनको प्राविधिक परीक्षण गरिएको थियो । जाँचका क्रममा कतिपय सवारीको ह्याण्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको र टायर अत्यधिक खिइएको पाइएकाले ती सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यान्त्रिक रूपमा कमजोर सवारीसाधन सडक सुरक्षाका लागि चुनौती भएको बताए । “हाम्रो उद्देश्य जरिवाना गर्नु मात्र नभई सम्भावित दुर्घटना रोकेर नागरिकको जीवन रक्षा गर्नु हो,“ उनको भनाई थियो ।

पछिल्लो समय सवारीसाधनको प्राविधिक खराबीका कारण दुर्घटना बढ्दै गएकाले ट्राफिक प्रहरीले नियमित मर्मत गरेर मात्र सवारी सञ्चालन गर्न चालक तथा व्यवसायीलाई आग्रह गरेको छ । यस्ता अभियानलाई उपत्यकाका अन्य स्थानमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ ।