२१ स्थानमा पार्टी भित्रबाटै अन्तर्घात भएको काँग्रेसको निष्कर्ष, निर्वाचन अभियानमा समेत कमजोरी रहेको स्वीकार

न्यूज समय

नेपाली काँग्रेसले २१ स्थानमा पार्टी भित्रबाटै भएको अन्तर्घातका कारण पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधी सभा निर्वाचनका बारेमा पार्टी केन्द्रीय कार्यालयमा भएको समीक्षामा पार्टी भित्रबाटै अन्तर्घात भएका कारण निर्वाचनमा हार बेहोर्नु परेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।

काँग्रेसका उम्मेदवारले ३ देखि ५ हजार भन्दा कम मतान्तरले हारिएका क्षेत्रमा मुख्यत आन्तरिक कारण जिम्मेवार देखिएको भन्दै चालिसेले त्यसमा काँग्रेसको निर्वाचन अभियानमा समेत कमजोरी रहेको देखिएको बताए ।

साथै प्रवक्ता चालिसेले १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको बारेमा पनि बैठकको निष्कर्ष रहेको सुनाए ।

काँग्रेसमा ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य रहेपनि अपेक्षित मत पाउन नसक्नु गम्भीर प्रश्न बनेको भन्दै चालिसेले संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको समेत बताए ।

जारी केन्द्रिय समितिको बैठकमा सभापतिको राजीनामा सम्बन्धमा व्यापक छलफल भइरहेको एवं आगामी दिनमा कसरी काँग्रेसलाई सशक्त बनाएर लैजाने भन्ने विषयमा बैठकले कार्यदिशा तय गर्ने पनि प्रवक्ता चालिसेले जानकारी दिए ।