थ्रेसहोल्ड पार गरेका दलहरुद्वारा समानुपातिक तर्फका उम्मेदवारको नामावली आयोगमा बुझाउँदै

न्यूज समय

दलहरुले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपालिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज निर्वाचन अयोगमा बुझाउँदै छन् ।

समानुपातिक निर्वाचनमा दलहरुले प्राप्त गरेका मत मध्य थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका छ राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउन लागेका हुन् ।

निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बेलुका ५ः०० बजेसम्म क्लष्टर (समूह) मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न गत फागुन २८ गते आयोगलले पत्रात्रार गरेको थियो ।

निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर मत मध्ये सबैभन्दा बढी रास्वपाले क्लष्टर अनुसार ५७ सांसदको नामावली पठाउने छ ।

यस्तै दोस्रो बनेको कांग्रेसले २० जना सांसद, एमालेले १६ जना, नेकपाले ९ जना, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना उम्मेदवार निर्वाचित भएको सूची क्लष्टर मिलाएर आयोगमा पेस गर्नुपर्ने आगोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

११० जना सांसद निर्वाचित हुने यो प्रणालीमा दलहरुले बुझाएको उम्मेदवारको नामावली आयोगलले आजै सार्वजनिक गर्ने तथा त्यसमा नमिले फेरि सच्याउने समय पनि तोकिने अन्तिम सांसलको टुंगो लगाईने सहायक प्रवक्ता जिसीले बताए ।

समानुपातिक तर्फको सांसदको नामावली टुंग्याउन रास्वपा, काँग्रेस, एमाले लागाएतका दलहरु अहिले आन्तरिक छलफलमा रहेका छन् ।