निर्वाचन आयोगले प्रतिनिधीसभा निर्वाचनकालागि हिजो ८ गते उम्मेदवारी माथि परेका उजुरीको जाँचबुझ गरिरहेको छ ।
बुधबार दिउँसो ३ बजे देखि सुरु भएको जाँचबुझ पश्च्यात आज बेलुकी ५ बजे पछि उम्मेदवारीको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
त्यस्तै माघ ९ गते दिउँसो १ बजे देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको पनि आयोगले जनाएको छ ।
शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको छ ।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी तीन हजार ४८७ को उम्मेद्वारी दर्ता भएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।


न्यूज समय
८ माघ, २०८२, बिहीबार ००:००