माघ २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना म्यादी प्रहरीको भर्ना आह्वान भएको ।
प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई दर्खास्त आव्हान गरेको हो ।
यही पुस २५ गतेदेखि आगामी माघ १ गते को अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको उम्मेदवारले ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको हुनु पर्ने छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आगामी माघ ५ गतेदेखि ९ गतेसम्म आवेदक मध्येबाट प्रारम्भिक छनोटमा परेकाहरुको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गर्ने र माघ १५ देखि २४ गतेसम्म उनिहरुलार्ई तालिम दिईने पनि बताईएको छ ।
तोकिएको म्याद सम्म निर्वाचन प्रहरी रहँदा सम्म प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ तलव पाउने छन् । त्यस्तै निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेटअनुसार प्रति म्यादी प्रहरी ४० दिनका लागि खाद्यान्नबापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने पनि बताईएको छ ।
त्यस्तै निर्वाचनको क्रममा खटिने उनिहरुलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप जनही एक पटकको लागि एकमुष्ट आठ सय छयालीसका दरले तयारी खर्च उपलब्ध हुनेछ ।
प्रतिदिन प्रतिनिर्वाचन प्रहरी तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार २०० खाजा खर्च उपलब्ध हुनेछ । नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिए बमोजिमको दररेटका आधारमा पोसाक बापतको रकम समेत निर्वाचन प्रहरीले पाउनेछन् ।
कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयंले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति प्राप्त गर्ने समेत बताईएको छ ।


न्यूज समय
२४ पुस, २०८२, बिहीबार ००:००