प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजना सहित अघि बढ्न नेपाली सेनालाई निर्र्देशन दिएकी छिन ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन जंगी अड्डा पुगेकी प्रधानमन्त्री कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नवगी एक जना पनि घाइते नभई निर्वाचन सम्पन्न हुनुपर्ने बताएकी हुन् ।
निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे सेनाले दिएको प्रस्तुतीकरणमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास समेत व्यक्त गरिन् ।
यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिईन् ।
त्यस अवसरमा प्रधानमनत्री कार्कीलाई नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।


न्यूज समय
१२ मंसिर, २०८२, शुक्रबार ००:००