संविधान जोखिममा परेको कांग्रेस सभापति देउवाको भनाई, पार्टीको कार्यवाहक उपसभापति खड्कालाई दिए

न्यूज समय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको बताएका छन् ।
जेन–जी आन्दोलनका समयमा आक्रमणमा परेका देउवा आज पहिलो पटक सार्वजनिक हुँदै कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गरे ।

जेन्जी–जी आन्दोलनका समयमा भएको घटनालाई सम्झदै भावुक भएका सभापति देउवाले आन्दोलका क्रममा ज्यान गुमाएका सवैमा हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरे । लिखित मन्तव्य मार्फत आफ्नो धारणा राखेका देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताकालागि समर्पित हुने पनि बताए ।

देशको वर्तमान विषम परिस्थितिमा पार्टीलाई एकताबद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु अहिलेको आवश्यक रहेको उनले बताए ।

जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको भन्दै सभापति देउवाले बर्तमान सरकारले तोकेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मेवार सरकारको भएको भन्दै देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउन सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।

आफुले कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको भन्दै खड्कालाई जिम्मेवारी अनुसार कामगर्न पनि आग्रह गरे ।