यो वर्ष २४ हजार ३ सय ८२ जना फरार अभियुक्त पक्राउ, काठमाडौंबाट मात्रै ५ हजार ५ सय ८५ पक्राउ परे

न्यूज समय

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले असार मसान्त सम्मको एक वर्षमा ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । एकै जिल्लाबाट हजारौं फरार अपराधी पक्राउ हुनु प्रहरी संगठनप्रतिको जनविश्वास मजबुत बनाउन निर्णायक सावित भएको जानकारहरूले बताएका छन् ।

विशेषगरी राजधानीमा कानूनी शासनको कार्यान्वयनमा देखाइएको जिल्ला प्रहरी परिसर काठमाडौँको सक्रियताले कानून भन्दा माथि कोही छैन भन्ने बलियो सन्देश दिएको छ । आर्थिक वर्ष ०८१/०८२ मा देशभर २४ हजार ३ सय ८२ जना फरार अपराधी पक्राउ गरिएको छ । यस अवधिमा काठमाण्डौ जिल्ला प्रहरी परिसरले ५ हजार ५ सय ८५ जना फरार अभियुक्त पक्राउ गरी राष्ट्रिय स्तरमै ठूलो सफलता हात पारेको छ ।

आर्थिक वर्ष ८०/ ०८१ मा नेपालभर १४ हजार ७ सय ६४ जना कसूरदार पक्राउ परेका थिए । उनीहरूबाट २ अर्ब ८१ करोड ६५ लाख ९४ हजार ९९५ जरिवाना असुल उपर भएको प्रहरीले जनाएको छ । यस वर्ष भने नेपाल प्रहरीले २४ हजार ३ सय ८२ जना फरार अभियुक्त पक्राउ गरी अघिल्लो वर्षको तुलनामा ६५% बढि सफलता प्राप्त गरेको छ ।


नेपाल प्रहरी संगठनको बार्षिक कार्य सम्पादन सम्झौता अनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यन्वयनलाई उच्च प्राथमिकतामा राखिएको र सोही बमोजिम काठमाण्डौ प्रहरी परिसर प्रमुखले फैसला कार्यान्वयनका लागि बिशेष रणनीति बनाई लागू गरेका छन् ।