काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताएका छन् । उनले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्धारा सोमबार काठमाडौँमा आयोजित हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । उनले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पु¥याइरहेपनि हाम्रो यो जीवनयापनको आधार आज संकटमा परेको पनि बताए ।
राष्ट्रपति पौडेलले हिमालदेखि समुद्रीतटसम्मका वासिन्दाहरूको भविष्य एउटै नियतिमा गाँसिएको स्मरण गर्दै यो ऐतिहासिक भेटघाट हाम्रो साझा र दिगो भविष्यका लागि आशा र सम्भावनाको मार्ग बन्ने विश्वास व्यक्त गरे । उनले नीति निर्माण तहमा हामीले वैज्ञानिक तथ्य र जन–आवाजलाई आधार मानेर जलवायु, जैविक विविधता र वायु प्रदूषणसम्बन्धी समयसापेक्ष, जनमुखी र कार्यान्वयन योग्य नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए । ।
त्यस्तै, कानुनी संरचना सुदृढीकरणका लागि जलवायु–मैत्री विकास, वायु प्रदूषण नियन्त्रणका लागि मापदण्डरू तयार गर्ने र जैविक विविधताको संरक्षणका लागि आवाश्यक कानुनी प्रावधानको प्रवन्ध गर्न आवाश्यक रहेको उनको भनाई थियो । “जवाफदेहीताको सुनिश्चितताका लागि हाम्रा कार्यक्रमहरू कार्यान्वयन भए–नभएको अनुगमन, स्रोतहरूको पारदर्शिता र परिणामको मूल्याङ्कनमा संसदले मूलभूत दायित्व निर्वाह गर्नुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।
जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब केवल वैज्ञानिक प्रतिवेदनमा सीमित नभई हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेको उनको भनाई थियो । राष्ट्रपति पौडेलले हिन्दुकुश हिमालय क्षेत्रको भूगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ सङ्कल्प जनाउने अवसर भएको बताए ।
न्यूज समय
२ भाद्र, २०८२, सोमबार ००:००