अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्रीको घोषणा

न्यूज समय

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब दुई लाख रूपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन्। स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म एक लाख रूपैयाँमामा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोबर बनाइने घोषणा गरेका हुन्। मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन्।

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’ मन्त्री पौडेलले आज बिहान आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले दुई लाख रूपैयाँसम्मको उपचार सुविधा पाउनेछन्। यसअघि सरकारले बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय भइसकेको छ।