कांग्रेस केन्द्रीय कार्यालय विस्तारका लागि एक रोपनी तीन आना तीन पैसा जग्गा खरिद

न्यूज समय


नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तारका लागि कार्यालय अगाडिपट्टी रहेको एक रोपनी तीन आना तीन पैसा जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गरेको छ ।

केन्द्रीय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य जग्गा खरिद गर्ने निर्णय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको विज्ञप्तिमार्फत् जनाइएको छ ।

उक्त जग्गा १३ करोडमा खरिद गरेको जनाइएको छ । निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने जनाइएको छ ।