न्यायपरिषद्को आकस्मिक बैठक जारी, आफ्ताबलाई सफाइ दिने न्यायाधीशहरूका बारेमा छलफल

न्यूज समय

प्रधानन्यायधीश एवम् न्यायपरिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतले बोलाएको न्यायपरिषद्को आकस्मिक बैठक अहिले बसिरहेको छ । बैठक बिहान ९ बजेदेखि सुरु भएको हो । बैठकमा पूर्वमन्त्री  मोहम्मद आफ्ताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन प्रक्रिया अघि बढाउन विषयमा छलफल भइरहेको बताइएको छ ।

केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकमा यसबारेमा कुरा उठेको थियो । चौतर्फी रुपमा प्रश्न उठ्न थालेपछि सदस्यहरुसँगको परामर्शमा प्रधानन्यायाधीशले बैठक आह्वान गरेका हुन् ।

केही दिनअघि न्यायपरिषद्मा उच्च अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित उजुरी परेको हो । न्यायपरिषद्ले मुद्दाको मिसिलसमेत मगाइसकेको छ । फैसलाको पूर्णपाठ तयार नभएकाले उच्च अदालतको वीरगञ्ज इजलासबाट रायकिताबको प्रतिलिपी समेत मगाइएको बताइएको छ ।