नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

न्यूज समय

नेपाली महिला क्रिकेट टिमले आईसीसी टी–२० को सुपर–३ को खेलमा यूएईमाथि पाँच विकेटको जित निकाल्दै नेपाली टिमले ग्लोबल क्वालिफायर्समा स्थान पक्का गरेको छ । सोमबार बैंककमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन बनाइन् । उनले २८ बलमा दुई चौका प्रहार गरिन् । यस्तै, रुविना क्षेत्रीले १८ बलमा तीन चौकासहित २३ रन बनाइन् । सम्झना खड्काले २१ रन थप्दा पूजा महतोले १३ रन जोडिन् । यूएईकी मिसेले बोथा, सुरक्ष कोटे, वैश्णवी महेश र ईशा ओजाले समान एक विकेट लिइन् ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो । यूएईकी कप्तान ईशा ओजाले ३९ रन बनाएकी थिइन् । यस्तै, थिर्था सतिशसले २१, हिना हटचन्दनीले २० र लाभाया केन्यले १२ रन थपिन् । नेपालबाट मनिशा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिशाले २० रनमात्र खर्चिइन् । यस्तै, कविता कुवँरले दुई विकेट लिँदा राजमति ऐरीले एक विकेट लिइन् ।

यो नतिजासँगै प्रतियोगिताबाट ग्लोबल क्वालिफायरमा छनोट हुने दुई टोलीको टुंगो लागेको छ । प्रतियोगिताबाट नेपाल र थाइल्यान्डले ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेका हुन् । सुपर–३ को दुवै खेलमा पराजित भएको यूएईको भने सम्भावना समाप्त भएको छ । अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार थाइल्यान्डविरुद्ध खेल्ने तालिका छ ।