नेपालमा संसदीय व्यवस्थाको पुनर्स्थापनाको आन्दोलनमा यातना पाउने, धरपकडमा पर्ने, जेल बस्ने, प्रवासिनेको संख्या धेरै छ।
सामान्य रूपमा याद गर्दा यस मध्ये महेश कर्मोचा पनि एक हो। तर, महेश कोर्मोचाजी संग जोडिएको इतिहासको यौटा खास पक्ष छ, जसका लागि उहाँको बिशिष्ठ पहिचान रहन्छ।
उहाँ बिपी कोईरालाले आह्वान गर्नु भएको बिस २०२६ उप्रान्तको शसस्त्र बिद्रोहका एक मुख्य पात्र रहनु भयो। यस कालखण्डमा भारतको प्रवासमा रहनु, जोगबनीलाई र सीतामढी नजिकको सीमावर्ती सुरसण्डलाई केन्द्र मानी शसस्त्र लडाकाहरूको संयोजन गर्नु, शस्त्र व्यवस्थापन गर्नु, ट्रेनिंगको व्यवस्था मिलाउनु जस्ता काममा महेश जी को एक प्रमुख भुमिका रहेको थियो।
महेश कर्मोचाको पृष्ठभुमि सैनिकको थियो। कुनै समय उहाँ सेनामा रहनु भएको थियो। तेस बखत नेपाली काँग्रेसको लागि भारतको प्रवास कठिन हुदै गएको थियो। देखिने रूपमा गुरिल्ला प्रशिक्षण गराउनु संभव थिएन। यसर्थ, अनुभवी पूर्व सैनिकहरूको व्यवस्थापन गर्नु अपेक्षाकृत सजिलो बिकल्प थियो।

जोगबनीमा उहाँ रहनु हुदाँ क्याप्टेन यज्ञबहादुर थापा, जसलाई पछि ओखलढुंगा काण्डको दोष देखाई मृत्युदण्ड दिईयो-समेत संगै हुनुहुन्थ्यो। यहाँ शसस्त्र टोलिमा समावेश भएको, नभएको एल।बि। गुरूंग, गोपाल राई, छत्रध्वज बस्नेत लगायत धेरै व्यक्तिहरू हुनुहुन्थ्यो। अर्को उल्लेखनीय कुरा, राम, लक्षमण समेत संलग्न रही ओखलढुंगाको सैनिक क्याम्प कब्जा गरी तत्पश्चात तेहाँबाट श्रृँखलावद्ध शसस्त्र कारबाही गर्नका लागि बनेको टोलीको महेश जी ‘पोलिटिकल अफिसर’ को दर्जाका साथ तेता लाग्नु भएको थियो। यही हो, ओखलढुंगा काण्ड भनी चिनिने घटना जस्मा धेरै मारिए, थोरै बाँच्नेमा उहाँ पनि एक हो।
ओखलढुंगा काण्डको असफलताले नेपाली काँग्रेसको दिशा बदलियो। बिपीको लागि यो ठुलो धक्का थियो। बिमान अपहरण, अनेकन कारबाहीहरू यसैको पृष्ठभुमिमा भएको हो। राम उपाध्याय, लक्षमण उपाध्याय जस्ता गैर सैनिक पृष्ठभुमिका तत्कालिन उदीयमान बिद्यार्थी नेताहरू लगायत धेरै मुख्य मानिसहरूको निर्मम हत्या बिपीको लागि असह्य भएर गयो। यस बारेमा पुस्तक तथा संग्रहहरू उपलब्ध छ, जहाँबाट बिस्तृत जानकारी पाईन्छ।यहाँको सन्दर्भ, नेपाली राजनीतिक एक मुख्य पात्र महेश कर्मोचाको निधनको हो। महेश जी को योगदानको कथा लामो छ। उहाँको निधनबाट यौटा वर्तमान इतिहास भएको छ। उहाँका आत्माका प्रति हार्दीक श्रद्धासुमन चढाउँछु।
जयप्रकाश आनन्दको फेसबुकबाट
न्यूज समय
४ जेष्ठ, २०८२, आईतबार ००:००