राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति सीता जयन्तीले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा शुभकामना दिर्दै उनले माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिको रूपमा लिइने बताउँदै एक वीरांगना हुनाका साथै मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीको रूपमा समेत माता सीताको श्रद्धा गरिने उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले जगत् जननीको रूपमा पूजा अर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताए । उनले माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरका रूपमा रहि आएको बताउदै जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको राष्ट्रपति पौडेलले दिएको शुभकामनामा उल्लेख छ ।
न्यूज समय
२३ बैशाख, २०८२, मंगलबार ००:००