सडक डिभिजन दाङले डिभिजनले हेर्दै आएको विभिन्न स्थानका अतिक्रमित सडक सिमा खालि गराउन अनुरोध गरेको छ ।
डिभिजन दाङले विहिबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक सडक ऐन २०३१को बर्खिलाप हुने गरी सडक सिमा भित्र निर्माण गरिएका घर टहरा तथा पर्खालहरु १५ दिन भित्र हटाउन भनेको हो ।
सडक सिमा अतिक्रमित हुँदा यातायात आवागमनमा बाधा पुग्ने र सडक सुरक्षमा समेत गम्भिर असर पुग्ने भएकाले त्यस्ता अतिक्रमित संरचना अतिक्रमण गर्ने व्यक्ति वा संघ संस्था आफैले हटाउन सूचना प्रकाशन गरिएको डिभिजन प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए ।
डिभिजन प्रमुख विष्टका अनुसार सडक सिमामा अतिक्रमित संरचना हटाउन भनिएका सडक खण्डहरुमा महेन्द्र राजमार्ग अन्तरगत NH ०१ धानखोला–शिवखोल सडक खण्ड, हुलाकी राजमार्ग NH ०५ को गढवा–राजपुर सडक खण्ड, मदन भण्डारी राजमार्ग NH ०९ अन्तरगतको सिलतपाटी–खलङ्गा–वालुवासंग्रही सडक खण्ड रहेका छन् ।
त्यस्तै NH १९ को मुर्कुटी–घोराही–तुल्सीपुर–काल्चे सडक खण्ड, शहिद मार्ग NH ५४ को कोईलावास–लमही–घोराही सडक खण्ड, राप्ती राजमार्ग NH ५५ को अमेलिया–तुल्सीपुर–सितलपाटी–खौलापास सडक खण्ड, रारा राजमार्ग NH ५६ थारमारे–चौरजारी सडक खण्डको अतिक्रमित संरचना हटाउन पनि सूचनामा भनिएको छ ।
तोकिएको समय भित्र त्यस्ता संरचना नहटाए कार्यालय स्वयंले प्रचलित कानुन बमोजिम हटाउने र त्यसमा लाग्ने खर्च अतिक्रमण गर्ने व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने पनि डिभिजन प्रखुम विष्टले बताए ।



न्यूज समय
७ जेष्ठ, २०८३, बिहीबार ००:००