बालेन सरकारलाई टेरेन इन्टरपोलले, देउवा दम्पति विरुद्ध रेड कर्नर नोटीस जारी गर्न अस्वीकार

न्यूज समय


इन्टरनेश्नल क्रिमिनल प्रहरी संस्था इन्टरपोलले नेपालको बालेन्द्र शाह नेतृत्वको सरकारलाई अटेर गरेको छ । बालेन्द्र सरकारको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नीसमेत रहेकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेडकर्नर नोटिस जारी गर्न गरेको आग्रहलाई अहिलेकै अवस्थामा नोटिस जारी गर्न नसकिने जवाफ इन्टरपोले पठाएको छ ।

इन्टरपोलले देउवा दम्पतीविरुद्ध सम्बद्ध कसुर नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै प्रश्न गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी र अनुसन्धान भइरहेको कसुर उल्लेख गरेर रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । भदौ २३÷२४ गतेको जेन–जी आन्दोलनमा निवासमा आक्रमणमा परेको देउवा दम्पति आहिले नेपाल बाहिर रहेका छन् । उनीहरू देशबाहिर रहेकै बेला सरकारले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानेको थियो ।