४६ वर्ष अघिआजैको दिन भएको थियो जनमत सङ्ग्रहको मतदान भएको थियो । विक्रम संवत् २०३७ वैशाख २० गते नेपालमा कुन शासन प्रणाली छान्ने भनेर जनमत सङ्ग्रहको मतदान सम्पन्न भएको थियो। जसमा मतदातालाई निर्दलीय पञ्चायती व्यवस्था वा बहुदलीय व्यवस्थामध्ये एउटा रोज्न भनिएको थियो।
श्री ५ महाराजाधिराज वीरेन्द्रबाट २०३६ साल जेठ १० गते जनमत सङ्ग्रह गर्ने घोषणा गरिबक्सेको थियो। जनमत सङ्ग्रह सम्पन्न गर्न पूर्व प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहको अध्यक्षता १५ सदस्यीय राष्ट्रिय निर्वाचन आयोग गठन गरिएको थियो।
जनमत सङ्ग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाले ५४.९९ प्रतिशत अर्थात २४ लाख३३ हजार४ सय ५२ मत प्राप्त गरेको थियो भने बहुदलीय व्यवस्थाले ४५.२ प्रतिशत २० लाख ७ हजार ५ सय ६५ मत प्राप्त गरेको थियो । जनमत सङ्ग्रहका लागि अधिराज्यभरि १० हजार ६ मतदान केन्द्र र विदेशमा १९ वटा गरी १ हजार २५ मतदान केन्द्र राखिएका थिए।
कुल मतदाता ७१ लाख ९२ हजार ४ सय ५१ रहेकोमा ४८ लाख १३ हजार ४ सय ८६ मत खसेका थिए। जसमा सदर मत ४४ लाख ४१ हजार ४ सय १७ र बदर मत ३ लाख ७२ हजार ६९ थिए । विदेशमा बस्ने नेपालीहरुले मतदान गर्न पाएको एउटा मात्र अवसर त्यही थियो ।


न्यूज समय
२१ बैशाख, २०८३, सोमबार ००:००