सशस्त्र प्रहरी बलका नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

न्यूज समय

सशस्त्र प्रहरी बल नेपालका नव नियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई गृह मन्त्रालयमा आयोजित एक औपचारिक समारोहका बीच गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले अतिरिक्त महानिरीक्षक एआईजी रहेका पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुख पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

यसअघि कार्यरत आईजीपी राजु अर्याल १८ वैशाखबाट अनिवार्य अवकाशमा गएपछि पौडेलले संगठनको नेतृत्व सम्हालेका हुन्। नयाँ आईजीपीका रूपमा उनले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्दै आफ्नो कार्यकाल सुरु गरेका छन्। पौडेल सशस्त्र प्रहरी बलभित्र अनुभवी र व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन् । उनले विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हालिसकेका छन्—सीमा सुरक्षा, अपरेसन कमाण्ड, प्रशासनिक व्यवस्थापनदेखि विपद् उद्धारसम्मका क्षेत्रमा उनको अनुभव फैलिएको छ ।

उनको करियर हेर्दा उनी ‘फिल्ड–ओरिएन्टेड अफिसर’ का रूपमा चिनिन्छन्, जसले कागजीभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिने प्रवृत्ति देखाएका छन् । यही कारणले पनि उनलाई आईजीपी बनाउने निर्णयलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।

नेपाल–भारत खुला सीमा, सीमा क्षेत्रमा हुने तस्करी, मानव बेचबिखन, अवैध गतिविधि र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी र सुरक्षा चुनौतीले सरकारलाई दबाबमा राखेको छ ।यस्तो अवस्थामा अनुभवी नेतृत्व आवश्यक रहेको विश्लेषकहरू बताउँछन् ।

पौडेलको नियुक्तिले सीमा सुरक्षामा कडाइ आउने अपेक्षा गरिएको छ । विशेष गरी तराई–मधेश क्षेत्रका नाकाहरूमा भइरहेको अवैध कारोबार नियन्त्रणमा ल्याउने विषयमा उनको भूमिका निर्णायक हुने देखिन्छ ।