राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधीसभा निर्वाचनमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको छ ।
यही फागुन २१ गते हुने निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भइरहेका गतिविधि तथा घटना र त्यसले देशको शान्ति सुरक्षा र आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा दाङ, रौतहट, पर्सा लगाएतका विभिन्न स्थानमा भएका विवाद र घटनाले शान्ति सुरक्षामा थप चुनौती थपिएको देखिएको पनि जनाईएको छ ।
साथै राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूले एक अर्को दल, उम्मेदवार र नेताहरूप्रति व्यक्त गर्ने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले शान्ति सुरक्षा र निर्वाचनको वातावरणमा समेत थप चुनौती सिर्जना हुन सक्नेमा पनि आयोगले चिन्त व्यक्त गरेको छ ।
साथै आयोगले राजनीतिक दलहरू, उम्मेदवार तथा कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरीत चुनावको प्रचारप्रसार र राजनितिक गतिविधिमा प्रत्यक्ष परोक्ष रूपमा बालबालिकाको प्रयोग गरेको भनेर आएको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराएको विज्ञप्तीमा उल्लेख छ ।


न्यूज समय
१२ फाल्गुन, २०८२, मंगलबार ००:००