निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम तथा पत्रकारलाई कारवाही गर्न आयोगद्वारा प्रेस काउन्सिललाई पत्राचार

न्यूज समय

निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारलाई कारबाहीका लागी निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।
उजुरीका आधारमा आयोगले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न काउन्सिलमा पठाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष÷सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईं अनुसन्धान तथा कारबाहीका पठाईएको हो ।

चौलागाईंले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिललाई लेखी पठाएको हो ।

व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) को प्रतिकूल हुने गरी उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोष्ट गरेको भनी उजुरी परेकाले काउन्सिलमा लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए ।

यसैगरी गोरखापत्र संस्थानले मधेस र बाग्मती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि स्पष्टीकरण सोधिएको छ । आयोगले संस्थानलाई यस विषयमा दुई दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको जोशीले बताए ।