भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की

न्यूज समय

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको भएको बताएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रण गरी सुशासन कायम गर्न सरकार अहोरात्र खटिरहेको बताएकी हुन् ।

सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको मूलभूत माग राखी जेनजी युवाको स्मरण गराउँदे प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति तथा शासकीय सुधारका कार्यलाई प्राथमिकता दिएको स्पष्ट पारिन् ।

राज्यका स्रोत–साधनको दुरुपयोगविरुद्ध सरकार निर्मम ढङ्गले प्रस्तुत भएको दावी गर्दै प्रधानमन्त्री कार्कीले अवाञ्छित सुविधाहरू लिने र स्रोतसाधन दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिएको बताईन् ।
आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी ‘सुशासनको मार्गचित्र’ तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाई थियो ।

आफ्नो जिम्मेवारीको बोध प्रत्येक राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व र अन्य सरोकारवालामा हुनु जरुरी रहेको भन्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सदाचार स्थापनाको महाअभियानका रूपमा लिन आग्रह गरिन् ।