नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको विकास जादु टुना शैलीमा सम्भव नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको एक भिडियो सन्देश मार्फत सभापति थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी भएको बताएका छन् ।
ठेकेदारलाई तर्साएर वा आयोजना स्थलमा पुगेर निर्देशन दिएर ताली त पाईएला, तर समस्याको समाधान नहुने भन्दै थापाले त्यसकालागि स्पष्ट खाका र भिजन हुनु पर्ने बताए ।
परम्परागत विकासको शैलीले अव काम नगर्ने भन्दै सभापति थापाले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका आफूसँग रहेको तर्क गरे ।
संसद्, संसदीय समिति र मन्त्रालयमा रहँदा आफूले पूर्वाधार निर्माणमा देखिएका समस्यालाई नजिकबाट नियालेको भन्दै उनले परम्परागत शैलीका कारण देशले ठूलो अपरच्युनिटी कष्ट गुमाइरहेको बताए ।
अहिलेको अवस्थामा ४८ वर्ष पुरानो सडक ऐन र २० वर्ष पुरानो सार्वजनिक खरिद ऐनले आजको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने भएकाले करिब ३ दर्जन कानुनहरू संशोधन, परिमार्जन वा खारेज गर्नुपर्ने देखाएको भिडियो सन्देशमा थापाले बताएका छन् ।


न्यूज समय
२६ माघ, २०८२, सोमबार ००:००