लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको बिहिबार बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको बताईएको छ ।
लुम्बिनीको पर्यटन प्रवद्र्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तरराष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित आगामी वैशाख १६ र १७ गते सम्मेलन आयोजना गर्ने निर्णय गरिएको आयोजक समितिले जनाएको छ ।
राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख १६ र १७ गत लुम्बिनीमा गर्ने तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव एवं इञ्जिनियर दीपक श्रेष्ठले जानकारी बताए ।
दुई दिनेसम्म सञ्चालन हुने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा तथा संस्कृतिका विषयमा छलफल र कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।
प्रचारप्रसारका माध्यमबाट लुम्बिनीलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने, संसार भरि बौद्ध धर्मको महत्व बढाउने र लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकको भनाई छ ।


न्यूज समय
२२ माघ, २०८२, बिहीबार ००:००