माघ शुक्ल पूर्णिमाका दिन आज श्री स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिदै

न्यूज समय

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो श्री स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गर्न गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक श्री स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।

त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी सेलाउने व्रत विधि छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको उल्लेख छ ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिदै छ ।