नेपाली काँग्रेसले सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरेर चुनावमा होमिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पहिलो पटक बसेको बैठकले थापालाई अवको प्रधानमन्त्रीको रुपमा उम्मेदवार बनाउँदै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन समेत दिने निर्णय गरेको छ ।
सभापतिमा निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पद बहाली गरेका सभपति थापाले नेपाली काँग्रेस बदलिएर निर्वाचनमा होमिएकोले सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
सञ्चारकर्मीहरु संगको कुराकानीमा सभापति थापाले निर्वाचनको पूर्वसन्ध्यमा भएको बिशेष महाधिवेशनमा भएका त्रुटि र अप्ठ्यारोलाई बुझिदिन पनि आग्रह गरेका छन् । समयका चापले काम गर्न नभ्याईएको भन्दै थापाले उम्मेदवारी छनोट देखि समावेशीता लगाएतमा भएका कमजोरीलाई स्वीकार्दै अर्को पटक यस्तो नदोहोरीने पनि प्रण गरे ।
सभापति थापाले पार्टी आफूहरूले नै बदलेको बताउँदै अब यो देशलाई पनि काँग्रेसले नै बदल्ने संकल्पका साथ कांग्रेस निर्वाचनमा होमिएको बताए ।
उनले भने “१६५ निर्वाचन क्षेत्रमा रहनु भएका १० लाख क्रियाशील सदस्यहरूलाई आह्वान गर्छु पार्टीभित्रमा पनि भिन्न मत छ । अधिवेशनकै सन्दर्भमा कुरा छ छलफल गरौँला ।”
थापाले भने “निर्वाचनको बेलामा नेता कार्यकर्ताका लागि आचारसंहिता बनाउछौँ । सवैले पालना पनि गर्नुपर्छ । अरु पार्टीलाई पनि आह्वान गर्छौँ । फेयर प्ले, फेयर गेम चाहन्छौँ’ ।
सभापति थापा सर्लाही ४ बाट प्रतिनिधी सभाको उम्मेदवार बनेका छन् ।



न्यूज समय
९ माघ, २०८२, शुक्रबार ००:००