केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, निर्वाचनको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन निर्देशन

न्यूज समय

केन्द्रीय सुरक्षा समितिको बैठकले फागुन २१ मा हुने निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले यसअघि स्वीकृत भएर कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ का बारेमा छलफल गरेको छ ।
गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि उपश्थित बैठकमा जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा भएको गृह मन्त्रालयले स्रोतले बतायो ।

निर्वाचनको प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न र निगरानीलाई प्रभावकारी बनाउन तथा दुष्प्रचार गरेको भेटिएमा कडाइका साथ कारबाही समेत गर्ने बिषयमा पनि छलफल भएको छ ।

बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने तथा राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार कार्यक्रममा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको बताईएको छ ।