निर्वाचन आयोगले तोकेको समय भित्र समानुपातिक प्रणालीको बन्दसूची तर्फ कुल ६४ राजनीतिक दलले आफ्नोे पार्टीको बन्दसूची पेश गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनकालागि आयोगले राजनीतिक दललाई बन्दसूची पेश गर्न दिएको समय पुस १३ र १४ गते भित्र आयोगमा ६४ राजनीतिक दलको बन्दसूची परेको हो ।
१४ गते नभ्याईएका दलहरुको बन्दसूचीलाई आयोगले आज विहान सम्म लगाएर बुझेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार समानुपातिक प्रणालीतर्फ ११० स्थानका लागि ६४ दलका गरी तीन हजार ४२४ उम्मेद्वारको नाम बन्द सूचीमा समावेश भएको छ ।
बन्द सूची बुझाउने ६४ दलमध्ये ५४ दलको आफ्नो निर्वाचन चिह्न र १० दलबाट साझा निर्वाचन चिह्नमा उम्मेदवारी परेको छ ।
आयोगका अनुसार प्राप्त बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिईने पनि आयोगको भनाई छ ।
त्यस्तै यही पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची जाँच गरिने र आउँदो आगामी माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगको तयारी छ ।


न्यूज समय
१५ पुस, २०८२, मंगलबार ००:००