विकासका काम अलपत्र पार्नेको ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री घिसिङ

न्यूज समय

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पार्नेको ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आईतबार आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उल्लेख गरे ।

पूर्वाधार विकासमा निर्माण व्यवसायीले नगरेका ठेक्काहरु सरकारले हेर्दै नगरेका भए सोही अनुसार सरकार कडाईका साथ अगाडी बढ्ने बताएका हुन् ।

शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीबाट विकास निर्माणका सम्बन्धमा प्रस्तुत भएको ज्ञापनपत्रका विषयमा काठमाडौँ पुगेर सम्बन्धित निकायसँगको समन्वयमा छलफल गर्ने समेत मन्त्री घिसिङले प्रतिबद्धता जनाए ।
तनहँु रहँदा मन्त्री घिसिङले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको पनि निरीक्षण गरेका छन् ।

त्यस अवसरमा उपचार केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले अस्पतालमा डेडिकेटेड विद्युत् लाइन जडान र केन्द्रका आवश्यक पूर्वाधारकालागि मन्त्री घिसिङलाई आग्रह गरेका थिए ।