बाँकी कार्यकाल सरकार संगै मिलेर उत्कृष्ट नतिजा दिने गरी काम गर्छु : कार्यकारी निर्देशक हितेन्द्रदेव

न्यूज समय

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अदालतले समयमै मुद्दाको सुनुवाई गरेका कारण आफूले न्याय पाएको बताएका छन् ।
सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनस्र्थापित भएका शाक्यले बुधबार कार्यभार सम्हाल्दै अवको बाँकी कार्यकाल सरकार संगै मिलेर काम गर्ने बताएका हुन् ।

अवको झण्डै साढे तिन वर्षको अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्ने बताउँदै कार्यकारी निर्देशक शाक्यले अव आफू प्राधिकरण र देशको सेवामा लाग्ने बताए ।

प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई अन्यत्र सरुवा गरी मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को गत असोज ५ को निर्णय कानुनविपरीत भएको भन्दै शाक्य सर्वोच्च गएका थिए ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई पुनस्र्थापित गर्ने आदेश दिएको थियो ।

गत वर्षको चैत्र ११ मा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त शाक्यलाई जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका कुलमान घिसिङले कार्यकारी निर्देशकबाट हटाउँदै अन्यत्र सरुवा गरिदिएको थिए ।