नेपाली काँग्रेसको १५ औं महाधिवेशन आउँदो पुसमा काठमाडौंमा हुने

न्यूज समय

लामो समयको रस्साकस्सी पछि अन्तः नेपाली काँग्रेस १५ औं महाधिवेशन आउँदो पुसमा गर्ने निर्णयमा पुगेको छ ।
पार्टीको आज बसेको बैठकले आउँदो पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
पार्टीका कार्यवाहक अध्यक्ष पूर्णवहादुर खडकाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा वसेको बैठकले वर्तमान कार्यसमितिको समयावधि आउँदो माघ महिना सम्म थप्दै १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।

कार्यवाहक सभापति खड्काले पेश गरेको कार्यतालिका अनुसार पुस १६ गते वडा अधिवेशन गर्ने, गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने गरी पास गरिएको छ ।

त्यस्तै एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने तथा प्रदेश अधिवेशन पुस २३ र २४ गते एवं केन्द्रीय महाधिवेशन पुस २६,२७ र २८ गते गर्ने गरी निर्णय भएको केन्द्रीय सदस्य दिपक गिरीले जानकारी दिए ।

आउँदो फागुन २१ मा तोकिएको प्रतिनिधी सभाको चुनाव अगाडी नै विशेष महाधिवेशन हुने गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा संकलन गरिएको बहुमत सहितको हस्ताक्षरको दवावमा संस्थापन पक्ष परेको थियो ।

पूर्व पदाधीकारी सहितको वैठकमा पुसमै नियमित महाधिवेशग गर्ने गरी सभापति शेरवहादुर देउवा राजी भए संगै संस्थापन पक्षका अन्य नेताहरु पनि चुनाव अधि नै महाधिवेशन गर्ने सहमति जनाउन बाध्य भएका छन् ।