शनिबार बेलुका विभिन्न स्थानमा भएका दुर्घटनामा ७ जनाको ज्यान गयो

न्यूज समय


धनुषामा शनिबार साँझ यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा चार जनाको ज्यान गएको छ ।

ज्यान जानेमा धनुषा गणेशमान चारनाथ नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उहाँको श्रीमती ३५ वर्षीया निशा मगर, सोही ठाउँका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राई रहेकोे इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३२८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १२३० नम्बरको अटो त्यहाँको वीरेन्द्र बजार नजिकै एक आपसमा ठोकिएका थिए ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा धनबहादुरका १४ वर्षीया छोरी सितल मगर र सोही ठाउँका रमेश मगरका नौ वर्षीय छोरा रोशन मगर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र उनिहरुको जनकपुर अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान भइरहेकोे पनि जनाएको छ ।

त्यस्तै रुकुमको भुमे गाउँपालिकामा पनि शनिबार साँझ अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुमे १ का रेजिना घर्ति र २५ बर्षीय सविता घर्ति रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जाना घाईते भएका छन् ।

त्यस्तै बाजुरामा पनि बस दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको छ । शनिबार साँझा कोल्टी हुँदै धनगढी जानलागेको बस दुर्घटनामा पर्दा घाईते भएका सहचालक २७ बर्षीय गणेश जोशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।