युवा संघले गर्ने भनेको र्‍यालीलाई जिल्ला प्रशासन काठमाडौंले रोक्यो

न्यूज समय


नेकपा एमालेनिकट युवा संघले गर्ने भनिएको र्‍यालीलाई स्थानीय प्रशासनले रोक लगाई दिएको छ ।
युवा संघले भोलि शनिबार देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक सूचना जारी गर्दै शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने भनी सूचना आएको भन्दै र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने बताएका छन् ।

गत भाद्र २३ गतेको Gen Zआन्दोलनका क्रममा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटनाको स्मरण गराउँदै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक लगाईएको सूचनामा उल्लेख छ ।

सूचनामा पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम सवैमा आग्रह गरिएको छ ।