मुग्लिन नाराणघाट सडक खण्ड खुल्ने अनिश्चित, बैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनको आग्रह

न्यूज समय

मुग्लिन नाराणघाट सडक खण्ड पहिरोका कारण अवरुद्ध भए पछि बैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।
निरन्तर सुख्खा पहिरो खसिरहेका कारण अवरुद्ध बाटो खुलाउन निकै समय लाग्ने भएका कारण स्थानीय प्रशासनले बैकल्पिक बाटो प्रयोग गर्न भनेको हो ।

स्थानीय सुरक्षा निकाएको बैठकमा बाटो खुलाउने बारेमा भएको छलफलमा सवारी साधनलाई बैकल्पिक बाटो प्रयोग गरी यात्रुलाई सहजता दिन भनिएको हो ।

चितवनका प्रहरी उपरिक्षक गोविन्द पुरीले मंगलबार दिउँसो देखि फेरी निरन्तर सुख्खा पहिरो खसिरहेकोले बाटो खुलाउन निकै समस्या भएको बताए ।
नारायणघाट मुग्लिन सडक खण्डको तुईन खोलामा निकै ठुलो पहिरो गएकाले सडक भासिने जोखिम रहेको पनि प्रहरी उपरिक्षक पुरीले जानकारी दिए ।

तत्काल पहिरो पन्छाएर बाटो खुलाउने सम्भावना नभएकाले सवारी साधनलाई बैलल्पिक बाटो अपनाएर यात्रु ओसार्न अनुरोध गरेको पनि उनले बताए ।

चाडावाडको समयमा ठुलो सुख्खा पहिरो गएका कारण बिशेष गरी पश्चिम तर्फ यात्रा गर्ने यात्रुलाई निकै समस्या भएको छ । बैकल्पिक बाटो प्रयोग गर्दा लामो समय लाग्ने भएकाले पनि समयमै यात्रा गर्न तथा बाटोको अवस्था बुझेर यात्रा गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

सोही स्थानमा यस अघि खसेको पहिरो पन्छाएर सडक खुलाईएको भए पनि आज दिउँसो देखी पुनः पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।