राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी ९ बुँदे विज्ञप्तिमा देश, जनता, लोकतन्त्र, मानवअधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकार भएकाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन जरुरी रहेको उल्लेख छ ।
अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्नु पर्ने भन्दै
आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न, द्वन्द्व र हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन र आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रियाअनुरूप शिष्टतापूर्वक राख्न सवैमा आयोगले आग्रह गरेको छ ।
विकसित परिस्थितिमा आमनागरिकको मानवअधिकारको उपभोगमा आइपर्ने अवरोध पहिचान गरी त्यस्ता अवरोध हटाउन प्रभावकारी कार्य गर्नुपर्ने र सङ्कटको अवस्थामा हुनसक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्न पनि आयोगको आग्रह छ ।
बिज्ञप्तीमा दैनिक उपभोग्य सामग्री र सेवालाई सहज रूपले सञ्चालन गर्ने आवतजावतलाई सहज बनाउनुपर्नेमा जोड दिदै प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षति विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिनुपर्ने उल्लेख छ ।
सङ्कटपूर्ण यो अवस्थालाई सामान्यीकरण गर्न सबै संघसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्न पनि भनिएको छ ।
न्यूज समय
३० भाद्र, २०८२, सोमबार ००:००