आज (आईतबार) राति खग्रास चन्द्रगहण लाग्दै छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाद्र शुक्ल पूर्णिमाका दिन आज राति १० बजेर ११ मिनेटमा सुरु हुने यो चन्द्र ग्रहणले चन्द्रमालाई पुरै ढाक्ने छ ।
पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिदै आएको छ । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले झण्डै साढे तीन घन्टा देखिने यो चन्द्रग्रहण राति १ बजेर ४१ मिनेट जाँदा सकिने बताए । ढकालका अनुसार यो ग्रहण काठमाडौंको आकाशबाट पनि देख्न सकिने छ ।
यो ग्रहण नेपालबाट देखिने वि.सं. २०८२ को पहिलो ग्रहण हो । यो चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्नेछन् ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने एवं तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थमा उल्लेख छ ।
ग्रहण लाग्नु भन्दा पहिला गाईका गोबरले घरलाई घेरा लगाउने परम्परा पनि छ ।
ग्रहणका विभिन्न गुण र दोष हुने सास्त्रमा उल्लेख भए पनि सरकारले सामाजिक सञ्जाल बन्द गरेका कारण यो ग्रहणका थप गुण र दोषकाबारेमा धेरैले अनभिज्ञता जनाएका छ ।
न्यूज समय
२२ भाद्र, २०८२, आईतबार ००:००