विसं २०१२ भदौ २२ गते पहिलो पटक निजामती सेवासम्बन्धी ऐन जारी भएको स्मरण गर्दै मनाउने गरिएको निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिन्छ ।
निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । सेवा दिवस मनाउन मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह मातहतका उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीजस्ता कार्यक्रम तय गरिएको छ ।
यस दिवसका उपलक्ष्यमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राजधानीमा हुने मूल समारोहमा वर्षभरमा राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जना निजामती पुरस्कारको समेत घोषणा गरिने छ ।
अघिल्लो वर्ष घोषणा गरिएका कर्मचारीलाई प्रमुख अतिथिको हातबाट पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । समारोहमा पुरस्कृत हुने कर्मचारीबाट अरुलाई पनि असल र निष्ठावान हुन प्रेरणा प्राप्त मिल्ने दिनका रूपमा यो दिवसलाई लिने सकिने सहसचिव दाहाल बताउछन् ।
न्यूज समय
२२ भाद्र, २०८२, आईतबार ००:००