नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताएको छ । उप–प्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच मंगलबार भएको भेटवार्ता जुटले त्यस्तो कुरा बताएका हुन् ।
अर्थमन्त्रालयमा भएको भेटमा उनले विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने बताए ।
जुटले विश्व बैंकले गर्ने यो सहयोगमा सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।
उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू सुधार हुनु सकारात्मक भएको भन्दै अव लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिए ।
भेटमा अर्थमन्त्री पौडेलले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए थिए ।
त्यस अवसरमा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताए ।
विधेयकको लक्ष्य अनुसार अघि बढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा पनि आफुहरुले गरेको अर्थमन्त्री पौडेलले बताए ।
न्यूज समय
१७ भाद्र, २०८२, मंगलबार ००:००