नेपालमा डेङ्गी सङ्क्रमण तिव्र रुपमा बढ्दै, सतर्क रहन चिकित्सकको आग्रह

न्यूज समय

मुलुकमा पछिल्लो समय डेङ्गीको सङ्क्रमण तिव्र रुपमा फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ६४ जिल्लामा कुल ३ हजार २४७ डेङ्गीको सङ्क्रमणका बिरामी भेटिएको बताए ।

डा. दाहालका अनुसार कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण भेटिएको पुष्टि गरे ।

‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे फुलबाट निस्किएको लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेङ्गी संक्रमण हुने पनि डा.दाहालले बताए ।

पानी परे संगै पानी जम्ने स्थानमा यो प्रजातिका लमखुट्टे फैलने भएकोले सतर्क रहन पनि डा. दाहालले सवैमा आग्रह गरेका छन् ।

डा.दाहालले डेङ्गी संक्रमणबाट बच्न घर वरपरका पानी जम्ने खाडल पुर्ने, लामा वाहुला भएका लुगालगाउने, हात खुट्टामा लामखुट्ट्ले नटोक्ने मलम लगाउने, घरका ढोका तथा झ्यालमा जाली लगाउने एवं सुत्दा झुलको प्रयोग गर्दा लामखुट्टेको टोकाईबाट बच्न सकिने र यो रोग लाग्नबाट बच्न सकिने बताए ।

पछिल्लो एक हप्तामा मात्रै २११ जनामा डेङ्गी सङ्क्रमण भेटिएको र डेङ्गी सङ्क्रमणबाट दुई जनाको ज्यान गईसकेको समेत उनले बताए ।

गत बर्ष यो सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको ज्यान गएको थियो ।