सूचना प्रविधिले नागरिकलाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ : सभापति देउवा

न्यूज समय


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले नागरिकलाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताएका छन् । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तक्रियामा उनले घरघरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा, शिक्षा यी सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको बताए ।

सभापति देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्या समाधानका निम्ति सरकार र सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक रहेको बताए । उनले भने, “आजको युग विज्ञान र प्रविधिको युग हो । हामी अहिलेको युगलाई डिजिटल युग भन्छौँ । मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिएका छन् ।”

देउवाले डिजिटल प्लेटफर्महरू शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई, सरकारी सेवालगायत विभिन्न क्षेत्रमा प्रयोग भइरहेको भन्दै फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, जुम, गुगललगायत ई–बैंकिङ, ई–शिक्षा, ई–सरकारको परिकल्पना गर्न थालिएको स्पष्ट पारे । यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक रहेको उनले औँल्याए ।