राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिए रामहरि खतिवडाले

न्यूज समय

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले आफुले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने भन्दै नैतिक रुपमा पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको र त्यसमा खतिवडा पनि जिम्मेवार रहेको भन्ने संसदीय छानबिन समितिले निष्कर्ष निकाले पछी उनको दल नेपाली काँग्रेसले खतिवडालाई राजीनामा बुझाउन निर्देशन दिएको थियो ।

खतिवडाले सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कुटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने तथा भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्नेमा पनि सजग रहन सवैमा आग्रम गरे ।

सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको तर राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको जसको लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको उनले आरोप लगाए ।

खतिवडाले आफू कूटिल राजनीतिको सिकार हुन पुगको बताउँदै, संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहराएको पनि जिकिर गरे ।

आफूलाई कारबाहीको सिफारिस समेत नभएको उल्लेख गर्दै खतिवडाले “प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु” उनले भने ।