मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौती : उपराष्ट्रपति यादव

न्यूज समय

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘अन्तरराष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका रूपमा रहेकाले ती चुनौतीको सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे ।

उपराष्ट्रपति यादवले विश्वमा बाघको छाला, दाँत र हाडका लागि गरिने अवैध सिकारका कारण बाद्धको सङ्ख्या बट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै तीव्र रूपमा बढ्दो वनजङ्गल फँडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारणबाट हुने वन विनाशले बाघको बासस्थान बर्सेनि सङ्कटमा परिरहेको बताए । उपराष्ट्रपति यादवले बाघको अस्तित्व जोगाउनु एउटा प्रजातिको रक्षामात्र नभई सो विषय वातावरणीय सन्तुलनसँग जोडिएकाले सबैको सहकार्य र समन्वयबाट संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

बाघ एउटा सुन्दर र पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण वन्यजन्तुमध्येको एक हो । विश्वभरी यसको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखलाई ‘अन्तरराष्ट्रिय बाघ दिवस’ का रूपमा मनाइन्छ । मानिसलाई वन्यजन्तुप्रति संवेदनशील बनाउँदै तिनको संरक्षणमा स्वःस्फूर्त सहभागिताका लागि अन्तरराष्ट्रिय बाघ दिवसले अभिप्रेरित गर्ने उपराष्ट्रपति यादवले विश्वास व्यक्त गरे । सरकार र सरोकार भएका सबैलाई बाघको संरक्षणका लागि योजना र कार्यक्रम तर्जुमा गर्नमा बाघ दिवसले सहयोग पुर्याउने उनले धारणा राखे ।