संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेको एक वर्षे कार्यप्रगति विवरण सार्वजनिक

न्यूज समय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक वर्षे कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षयता समयानुकूल नीतिगत सुधार, सांस्कृतिक कूटनीति विस्तारसँगै सम्पदा, पर्यटन, हवाई सुरक्षा र सांस्कृतिक प्रवद्र्धनका क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरू हासिल गरेको जनाएका छन् ।

‘मन्त्रालयले नीतिगत स्पष्टता, अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापना, संरचनागत सुधार र ऐतिहासिक सफलता प्राप्तमात्र गरेको छैन, निजी क्षेत्रमा समेत नयाँ उत्साह पैदा गरेको छ,’ उनको सचिवालयले भनेको छ, ‘विगतमा यस मन्त्रालयमा सधैँ ओझेलमा परेको सांस्कृतिक पक्षले यो एक वर्षमा प्राथमिकता पाएको छ ।’

सचिवालयले पछिल्लो एक वर्षको अवधिमा संस्कृति, सम्पदा र सिर्जनात्मक उद्योगका क्षेत्रमा भएका प्रयत्न र उपलब्धीहरूले सांस्कृतिक अर्थतन्त्रको निर्माणमा बलियो आधारशीला निर्माण गरिएको दाबी गरेको छ ।

‘मन्त्रालयले शोध–अनुसन्धान, रोजगारीको सृजना र नवप्रर्वतनलाई प्राथमिकतामा राखी शैक्षिक, व्यवसायिक र औद्योगिक क्षेत्रका बीचमा साझेदारी समेत प्रवर्द्धन गर्न महत्पूर्ण कार्य गरेको छ,’ सचिवालयको भनाइ छ ।

नीतिगत अस्पष्टता र संरचनागत प्रणालीमाथिको प्रश्नले गर्दा युरोपेली संघको सूरक्षा चासो कालोसूचीमा राखेको कारण नेपालको हवाई उड्डयन क्षेत्र संकटतर्फ धकेलिरहेको थियो ।

उक्त संकट हटाउन मन्त्री पाण्डेले पदभार सम्हालेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक अगाडि बढाएका छन् ।

हाल यी विधेयकहरू प्रतिनिधिसभाको विषयगत समितिमा दफावार छलफलमा छन् । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी ७५ जना सांसदले मन्त्री पाण्डेको प्रशंसा गर्दै चाँडोभन्दा चाँडो पारित गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएका छन् ।

मन्त्रालयले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्दै समग्र अध्ययन प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा मन्त्रालयले काम अघि बढाइसकेको सविचलयले जनाएको छ ।

पर्यटनमन्त्री पाण्डेले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर पर्यटन विधेयक, अभौतिक सांस्कृतिक सम्पदा विधेयक संसदमा दर्ता गरेका छन् । प्रतिलिपि अधिकारसम्बन्धी विधेयक र पर्यटन बोर्ड ऐन संशोधनसम्बन्धी विधेयकको मस्यौदा तयार पारिएको छ ।

मन्त्रिपरिषद्बाट पर्यटन नीति २०८२ स्वीकृत भएको छ । यसैगरी संस्कृति नीतिको मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको र हवाई नीति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको समयमा ८ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भए पनि हाल पूर्ण रुपमा सञ्चालनमा छ भने थप गरिएका ट्याक्सी–वे समेत सञ्चालनमा आइसकेका छन् ।

विश्व बैंकको नेपालसम्बन्धी पछिल्लो विकास प्रतिवेदनले समेत पर्यटन क्षेत्रको विकासमा हवाई पूर्वाधारमा भएको पछिल्लो विकासले पर्यटन क्षेत्रमा सकारात्मक सुधार ल्याउने उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार पर्वतारोहणसम्बन्धी नियमावली र हवाई सेवा व्यवस्थापन नियमावली तथा क्यासिनो नियमावली कार्यान्वयनमा आइसकेका छन् । जसले गर्दा नीतिगत स्थायित्व मात्रै नभएर अनुशासन र विश्वसनीयतासमेत सिर्जना गरेको मन्त्रालयको भनाइ छ ।

नयाँ पर्यटन नीति, सुधारिएको नियमावली र विधेयकको जगमा उभिएर मन्त्रालयले पर्यटन महाशाखामार्फत् उल्लेखनीय कार्यक्रमहरू सम्पन्न गरेको सचिवालयको दाबी छ । राष्ट्रिय अर्थतन्त्र वृद्धिको प्रमुख आधार पर्यटनलाई बनाउने उद्देश्यका साथ आगामी दशक २०२५–२०३५ लाई पर्यटन दशकको रुपमा मनाउनका लागि रणनीति र कार्ययोजना निर्माण भई स्वीकृतिको अन्तिम चरणमा पुगेको मन्त्रालयको भनाइ छ ।

सचिवालयका अनुसार नयाँ क्यासिनो नियमावली २०८२ तर्जुमा भएर कार्यान्वयनमा आइसकेको छ । क्यासिनो व्यवसायसँग सम्बन्धित सम्पत्ति शुद्धिकरण तथा आतंकवादसम्बन्धी गतिविधिहरू रोक्न मन्त्रालयले नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीलगायतको सहभागितामा छलफल गरेको थियो । उक्त छलफलमा आएका विषयलाई पनि नियमावलीमार्फत् सम्बोधन गरिएको सचिवालयको भनाइ छ ।

नेपालका लागि पर्वतारोहण केवल साहसिक खेलमात्र नभएर पर्यटन र राजश्वको स्रोत पनि मानिन्छ । पर्वतारोहण क्षेत्रलाई पर्यटन उद्योगको आवश्यकता बमोजिम व्यवस्थित, विस्तार र प्रवद्र्धन गर्न पर्वतारोहणसम्बन्धी नियामावली, छैठौं संशोधन २०८१ लागू गरिएको छ । यससँगै थप ५७ वटा हिमालहरू आरोहणको लागि खुला गरिएका छन् । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमार्फत् ९१५ जना दक्ष जनशक्ति उत्पादन गरिएको मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सहकार्य, सांस्कृतिक पुनर्जागरण र अन्तरसरकार समन्वय

नेपालको पर्यटन, संस्कृति तथा सम्पदा प्रवद्र्धनका क्षेत्रमा पछिल्लो एक वर्षमा देखिएको प्रगति केवल नीति निर्माण, भौतिक पूर्वाधार निर्माण वा व्यवस्थापनमा मात्र सीमित छैन ।

यसले राष्ट्रिय छविलाई अन्तर्राष्ट्रिय कूटनीतिक, सांस्कृतिक र पर्यटन सञ्जालमा मजबुत रूपमा उभ्याउने दिशा दिएको छ । नेपालको पर्यटन विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य रहेको यथार्थलाई आत्मसात् गर्दै नेपालले थाइल्याण्ड र ओमानसँग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

यस्ता सम्झौताहरूले केवल पर्यटक आदानप्रदानको सम्भावना मात्र बढाउँदैनन्, ती राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण औजारका रुपमा काम गर्दछन् । मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन लागि मन्त्रिपरिषद्बाट कार्ययोजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएका छन् । ती विमानस्थलहरुबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्तरआबद्धता स्थापना एवम् विस्तार गर्न विभिन्न मित्रराष्ट्रहरुसँग द्विपक्षीय छलफलहरू भएका छन् ।

संस्कृति तथा सम्पदा संरक्षणमा पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ । २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका ९२० सम्पदामध्ये ८०० सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । बाँकी सम्पदाहरूको काम पनि अन्तिम चरणमा पुगेको छ ।

हालै गोरखाको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण टासी छोइलिङ गुम्बा र छेकम गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ । जसले स्थानीय समुदायको धार्मिक र सांस्कृतिक जीवनमय मात्र होइन, आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने विश्वास गरिएको छ ।

लुम्बिनी खतराको सूचीबाट हट्यो

मन्त्री कार्यभार सम्हाल्नु अघि युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत र विश्वभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी खतराको सूचीमा परेको थियो ।

खतराको सूचीबाट बाहिर निकाल्न मन्त्री पाण्डेले युनेस्को लगायत सरोकारवाल राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थासँग चरणबद्ध रुपमा छलफल गर्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्नका लागि तयार पारिएको सुधारात्मक कार्ययोजना ९एक्सन प्लान० लाई प्राथमिकताकासाथ कार्यान्वयन गरे ।

जसकारण मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर लुम्बिनीलाई खतराको सूचीबाट बाहिर निकाल्न सफल भए । यस कार्यले लुम्बिनीको अन्तर्राष्ट्रिय गरिमा कायम राख्न उल्लेखनीय योगदान पुर्‍याएको छ ।

मन्त्रालयअन्तर्गतको छपाई प्रज्ञा–प्रतिष्ठानबाटै

मन्त्रालयले आफ्नो मातहतका कार्यालयहरूको कार्यक्षमता अभिवृद्धिका लागि संगठन तथा व्यवस्थापन पुनरावलोकन गरी संरचनागत सुधारको पहल गरेको छ । मन्त्री पाण्डेले मन्त्रालयअन्तर्गतका सम्पूर्ण छपाईको काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेसबाट छाप्ने निर्णय गरेका छन् । जसले गर्दा छपाईमा हुने खर्च मन्त्रालय मातहतमा रहँदा त्यसमा हुने अनियमितता पनि रोकिएको सचिवालयलको दाबी छ ।

‘नेपालका सार्वजनिक संस्थानहरू नेतृत्वको अनावश्यक हस्तक्षेपका कारण घाटामा जाने र धराशायी हुने गरेका थिए । मन्त्रालयले संस्थानको स्वायत्ततालाई आत्मसात गर्दै चलायमान बनाएका कारण नेपाल सांस्कृतिक संस्थान ६९ दशमलव ४७ प्रतिशतले आम्दानीमा वृद्धि हुने अवस्थामा पुग्यो,’ मन्त्री पाण्डेको सचिवालयको भनाइ छ ।

अर्थ मन्त्रालयको सार्वजनिक संस्थान वार्षिक स्थिति समिक्षा, २०८२ को प्रतिवेदनअनुसार नेपालका सार्वजनिक संस्थानहरूमध्ये यति धेरै नाफा कमाउने सांस्कृतिक संस्थान मात्रै हो ।

दीर्घकालीन संरचनागत र नीतिगत प्रयासहरूसँगै मन्त्रालयले विभिन्न अन्तर्राष्ट्रिय फोरमा सहभागी हुने र नेपालमा आयोजना गर्न नेतृत्वदायी भूमिका पनि पछिल्लो एक वर्षमा निर्वाह गरेको छ ।

जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपालप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ । सगरमाथा दिवस मे २९ को अवसरमा देश९विदेशका हिमाल आरोहीहरूलाई सम्मान गरेर पर्वतीय पर्यटनको महत्व अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको थियो ।

विश्व पर्यटन दिवस ९सेप्टेम्बर २७० मा निजी क्षेत्र, सरोकारवाला संस्था तथा पर्यटकहरूसँग समन्वयमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू सम्पन्न गरिएको थियो । प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय पर्यटन संवाद कार्यक्रमले संघीयता अनुकूल पर्यटनको रूपरेखा निर्माणमा सहयोग पुर्‍याएको मन्त्री पाण्डेको विश्वास छ ।

नेपाल पर्यटन बोर्डमार्फत् सातै प्रदेशमा भएका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर पर्यटक प्रवद्र्धकहरूसँगको छलफल गर्दा पर्यटन क्षेत्रको समावेशी विस्तारमा दृढता जनाएका छन् ।

ती कार्यक्रम कार्यक्रमको प्रयोजन र सहभागिताको स्वरूप हेर्दा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्ध ऐन, २०७७ को कार्यान्वयनमा प्रतिबद्धताको प्रमाण मान्न सकिने मन्त्रालयको भनाइ छ ।

उत्कृष्ट पर्यटनमन्त्री अवार्ड

मन्त्री पाण्डेले उत्कृष्ट कार्यसम्पादन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको मन्त्रालयहरुको अर्धवार्षिक मूल्यांकनमा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेका थिए । पाण्डेको कार्यसम्पादन र हासिल उपलब्धीको मूल्याङ्कन देशभित्र मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत भएको देखिन्छ ।

‘वर्ल्ड टुरिजम् एन्ड एभिएसिन समिट–२०२५’ को अवसरमा जर्मनीको बर्लिनमा आयोजित कार्यक्रममा दिगो पर्यटनका क्षेत्रमा नेपालको पर्यटन मन्त्रालयको संरचना, कानुन र कार्यान्वयन पक्षमा देखिएको सुधारका पहलहरुको मूल्यांकनका आधारमा मन्त्री पाण्डेलाई उत्कृष्ट पर्यटनमन्त्रीको अवार्ड प्राप्त भएको थियो ।