नेपाली कांग्रेसको अनुशासन समितिले नेताहरूमाथि कारबाहीको निर्णय गर्दा आफैले अनुशासन उल्लङ्घन गरेको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा विहिबार बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले गरेको कारवाही विधिसम्मत नभएको ठहर गरेको हो ।
बैठकमा सहभागी अनुशासन समितिका सदस्य समेत रहेको केँद्रीय सदस्य संजय गौतमले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए । उनले एमालेमा अर्को पक्षलाई समाप्त पार्ने गरिरहेको कारबाहीको नयाँ रुपमा कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए ।
आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए । बैठकले कसैलाई काखा र पाखा गर्ने गरी दोहोरो तेहरो मापदण्ड बनाएर यस्ता निर्णयहरू गरे त्यो पार्टीका लागि गम्भीर र प्रत्युत्पादक हुने चेतावनी पनि दिएको छ ।
कारबाहीमा परेका नेताहरूलाई अन्तिम पल्ट सचेत गराएर आममाफी दिन उपयुक्त हुने निष्कर्ष पनि बैठकले निकालेको छ । बुधवार कांग्रेसले निर्वाचनमा अन्तर्घात गरेको भन्दै केही नेताहरूलाई कारबाही गरेको छ । कारबाहीमा आफ्नो पक्षका नेताहरू परेपछि कोइरालाले आज बिहान बैठक बोलाएका थिए।
न्यूज समय
२६ असार, २०८२, बिहीबार ००:००