आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरि मनाईदैँ

न्यूज समय

आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने गुरुपूर्णिमा । गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ।

वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ। ​मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ। निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ। गुरुका प्रकार शास्त्रमा गुरुका अनेक भेद बताइएका छन्। ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि(महर्षिहरूलाई गुरु मानिएको छ।

ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ। गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरु (कृष्णं वन्दे जगद्गुरुम्) मान्छन्। कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्छन्। बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन्। तन्त्रमा पनि गुरुका विविध भेद बताइएको छ। लौकिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन छ। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि बिहीबार मनाइँदैछ।